6
परमप्रभु तर्फ फर्कि आउँनेको पुरस्कार 
1 “आऊ, हामी परमप्रभुतिर फर्कौ 
किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। 
उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ। 
2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नु हुनेछ 
अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउनु हुनेछ। 
हामी उहाँकै अघि जिउँदो हुनेछौं। 
3 आऊ, हामी परमप्रभुलाई चिनौं, 
हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं। 
हामीलाई थाह छ उहाँ आउनुहुनेछ। 
उहाँको आगमन प्रभात झैं निश्चय छ। 
उहाँ हामीकहाँ जमीनलाई भिजाउने 
आखिरी वर्षा झैं आउनु हुनेछ।” 
मानिसहरू विश्वास योग्य छैनन् 
4 “ए एप्रैम, म तिमीलाई के गरूँ? 
ए यहूदा म तिमीलाई के गरूँ? 
किनकि तेरो प्रेम बिहानको कुइरो जस्तै 
र बिलिने शीत जस्तै छ। 
5 यसैकारण मैले तिनीहरूमाथि 
अगमवक्ताद्वारा बञ्चरो चलाएकोछु। 
मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु। 
मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन। 
6 किनभने म अमर प्रेम चाहन्छु 
बलिदान होइन 
अनि म चाहन्छु मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा 
परमेश्वरलाई बेशी जानुन्। 
7 तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे। 
त्यसैमा तिनीहरूले मेरो विरूद्धमा विश्वासघात व्यवहार देखाए। 
8 गिलाद अधर्मीहरूको शहर हो। 
त्यो रगतले भरिएको छ। 
9 जसरी डाँकूहरूले मानिसलाई ढुकिबस्छन 
त्यसरीनै पूजाहरीहरूले गट्ठा बाँधेका छन्। 
तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्। 
निश्चय तिनीहरूले महा-अपराध गरेकाछन्। 
10 इस्राएलको कुलमा मैले घिनलाग्दो कुरो देखेको छु, 
एप्रैमको वेश्यावृत्ति त्यहाँ छ। 
इस्राएल अशुद्ध भएको छ। 
11 ए यहूदा तिम्रा निम्ति पनि कटनीको समय तोकिएको छ। 
त्यो हुनेछ जब म मेरो प्रजाको सुदिन फर्काउनेछु।” 
