116
1 जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ 
त्यो मलाई मन पर्दछ। 
2 जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ 
त्यो मलाई मन पर्छ। 
3 म मर्न आटेको थिंए। मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो। 
चिहान मेरो वरिपरि थियो 
म भयभीत र चिन्तित थिएँ। 
4 तब मैले परमेश्वरको नाउँ डाकें। 
मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!” 
5 परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ। 
हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ। 
6 परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ। 
म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो। 
7 हे मेरो प्राण, विश्राम गर! 
परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ। 
8 हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउनु भयो। 
तपाईंले मेरो आँसुहरू थामिदिनु भयो। तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो। 
9 जीवितहरूको देशमा पनि 
म परमप्रभुको सेवा अनवरत गर्नेछु। 
10 यद्यपि मैले भने अझ पनि मेरो विश्वास थियो, 
“म सर्वनाश भएँ!” 
11 हो, मलाई विश्वास थियो, जब म डराएको थिएँ, मैले भने, 
“सबै मानिसहरू झूटा छन्!” 
12 म परमप्रभुलाई के दिन सक्छु र? 
ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो। 
13 उहाँले मलाई बचाउनु भयो, 
यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु। 
अनि म परमप्रभुको नाउँ बोलाउनेछु। 
14 परमप्रभुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। 
म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु। 
15 परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ। 
परमप्रभु तपाईंको दासहरू मध्ये म एक हुँ। 
16 हे परमप्रभु, म तपाईंको दास हुँ। 
म तपाईंकी एकजना सेविकाको बालक हुँ। 
परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो! 
17 म तपाईंलाई धन्यवादको भेटी टक्र्याउने छु। 
म परमप्रभुको नाउँ पुकार्नेछु। 
18 आफुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। 
अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु। 
19 म यो सव यरूशलेमको मन्दिरमा गर्नेछु, 
र परमप्रभुको मन्दिरको आँगनमा गर्नेछु। 
परमप्रभुको प्रशंसा गर! 
