24
दाऊदको भजन। 
1 पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। 
यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्। 
2 परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो 
उहाँले यसलाई नदीहरूमा बसाउनु भयो। 
3 परमप्रभुको पर्वतमाथि को जान सक्छ? 
उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ? 
4 मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् 
मानिसहरू जसका शुद्ध हृदयहरू छन्। 
मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। 
अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्। 
5 असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्। 
ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्। 
6 ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्। 
तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्। 
7 हे मूल प्रवेश-द्वारहरू आफ्ना टाउकाहरू उठाऊ। 
सनातनका द्वारहरू, खोल, 
अनि महिमापूर्ण राजा भित्र आउनु हुनेछ। 
8 महिमाका महाराज को हुनुहुन्छ? 
परमप्रभु नै ती राजा हुन्, उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ। 
परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ। 
9 हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ। 
सनातनका द्वारहरू खुल्ला होऊ, 
र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ। 
10 यो महिमाका महाराजा को हुनुहुन्छ? 
सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ, उहाँ नै महिमाका राजा हुनुहुन्छ। 
