26
दाऊदको भजन। 
1 हे परमप्रभु मेरो न्याय गर्नुहोस्। 
म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। 
म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन। 
2 हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। 
मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्। 
3 मैले तपाईंको साँचो प्रेम कहिल्यै बिर्सिएको छुइनँ 
अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ। 
4 म ती व्यर्थका मानिसहरू मध्येको होइन। 
म दुष्टका संगतहरूलाई घृणा गर्छु। 
5 म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु। 
म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैन। 
6 हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस् 
म तपाईंको वेदीको वरिपरि हिंड्न सकूँ। 
7 हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु। 
म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो। 
8 हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। 
म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु। 
9 हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। 
ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्। 
10 ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन। 
तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्। 
11 तर म निर्दोष छु। 
यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्। 
12 म सबै विपदहरूबाट सुरक्षित छु। 
हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु त्यहाँ तपाईंको प्रशंसा गर्नेछु। 
