11
प्रमुख संगीतकारलाई: दाऊदको भजन। 
1 म परमप्रभुमा भरोसा गर्छु यसकारण किन मलाई भाग र लुक भन्यौ? 
तिमीले मलाई भन्यौ, “चरा जस्तो उडेर आफ्नो पहाडमा जाऊ!” 
2 दुष्ट मानिसहरू शिकारी जस्तै हुन्छन्, तिनीहरू अँध्यारोमा लुक्छन्। 
तिनीहरू धनुको डोरीलाई तान्दछन् र आफ्ना काँडहरू ताकेर, 
धार्मिक र ईमानदार मानिसहरूका मुटुमा प्रहार गर्दछन्। 
3 के तिनीहरू महान् हुन्छन् होला यदि तिनीहरूले सबै असल चीजहरू ध्वंश गरे भने! 
तब असल मानिसहरूले के गर्नु पर्ला? 
4 परमप्रभु! आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। 
परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। 
अनि सबै घटनाहरू भएको देख्नु हुन्छ परमप्रभुले मानिसहरूलाई असल 
अथवा दुष्ट भनी एकदम नजिकबाट हेर्नु हुन्छ। 
5 परमप्रभुले धर्मीहरूलाई खोज्नु हुन्छ 
तर निर्दयी र दुष्टहरूलाई घृणा गर्नुहुन्छ। 
6 उहाँले तातो कोईलाहरू र जलेको गन्धक बर्षा जस्तै ती दुष्टहरूमाथि बर्षाउनु हुन्छ, 
ती दुष्ट मानिसहरूले तातो, कोईलाको हावा बाहेक केही पाउने छैनन्। 
7 तर परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले राम्रो काम गर्नेहरूलाई प्रेम गर्नु हुन्छ। 
धार्मिक मानिसहरू उहाँसँग हुन्छन् र उहाँको मुहार हेर्छन्। 
