138
दाऊदको भजन। 
1 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु। 
सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु। 
2 हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाँउछु। 
म तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु। 
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ। 
अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो! 
3 हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें। 
अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो। 
4 हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि 
पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्। 
5 तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन् 
किनभने परमप्रभुको महिमा महान् छ। 
6 परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ, 
तर पनि उँहाले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ। 
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ, 
तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ। 
7 परमेश्वर, यदि म संकटमा परे भने मलाई सप्राण राख्नुहोला। 
यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनु होस्। 
8 परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो। 
परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ। 
परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्! 
