54
प्रमुख संगीतकारलाई: वाद्य वादन सहित-जति वेला सेफिद आयो अनि शाऊललाई भन्यो, “दाऊद हाम्रा मानिसहरूका वीचमा लुकिरहेको छ।” दाऊदको मस्किल नाउँको भजन। 
1 हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्। 
मलाई स्वतन्त्र* पार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्। 
2 हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्। 
मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्। 
3 विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्। 
ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्। 
4 हेर, मेरो परमेश्वरले मलाई बचाउँनु हुनेछ। 
मेरो स्वामीले मलाई साथ दिनुहुनेछ। 
5 जो मेरो विरूद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ। 
परमेश्वर मप्रति साँचो हुनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ। 
6 परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु। 
हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु। 
7 किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउँनु भयो। 
मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखें। 
* 54:1  स्वतन्त्र मूल अर्थ, “परमप्रभु, परमेश्वर मलाई तपाईंको नाउँसँग बचाउनु होस्। तपाईंको शक्तिले मलाई न्याय गर्नुहोस्।”
