99
1 परमप्रभु नै राजा हुनुहुन्छ, 
यसैले सारा जातिहरू डरले काम्छन्। 
परमेश्वर राजा सरह करूब स्वर्गदूतहरूमा बस्नु हुन्छ। 
यसैले सारा संसार डरले काम्दछ। 
2 सियोनमा परमप्रभु महान् हुनुहुन्छ! 
उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ। 
3 सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्। 
परमेश्वरको नाउँ विस्मयकारक छ। 
परमेश्वर पवित्र हुनुहुन्छ। 
4 शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ। 
परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो। 
तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो। 
5 परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर 
अनि उहाँको पवित्र पाउदानमा* दण्डवत गर। 
6 मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए। 
तिनीहरू मध्ये शमूएल हुन जसले परमेश्वरको नाम पुकारे। 
तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे, 
अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो। 
7 परमेश्वर अग्ला बादलबाट बोल्नु भयो। 
तिनीहरूले उहाँको विधिहरू पालन गरे 
अनि परमेश्वरले तिनीहरूलाई नियम प्रदान गर्नुभयो। 
8 हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। 
तपाईंले आफू क्षमादायी परमेश्वर अनि नीच काम गर्ने मानिसहरूलाई 
दण्ड दिनेको रूपमा दर्शाउनु भयो। 
9 हाम्रा परमप्रभु परमेश्वरको प्रशंसा गर। 
हाम्रो परमेश्वर साँच्चि नै पवित्र हुनुहुन्छ। 
उहाँको पवित्र पर्वत तर्फ दण्डवत् गर। 
* 99:5  पाउदान पाउदान मन्दिर तर्फको अर्थ हो।
